पशुपति वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माण सुरु
काठमाडौं।काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माण सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार निर्माण कार्यको शिलान्यास गरेकी हुन् ।
शिलान्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वका स्थलमध्ये धर्मशाला पनि महत्वपूर्ण रहेको बताइन् । पशुपति दर्शनका लागि आउने दर्शनार्थी तथा धार्मिक आस्था भएका व्यक्तिलाई पशुपति क्षेत्रभित्रै बस्ने सुविधा उपलब्ध गराउन धर्मशालालाई व्यवस्थित बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।


उनले धर्मशालाको पर्खाल तथा परिसर निर्माणको काम निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने तयारी महानगरपालिकाको रहेको बताइन् । महानगरपालिकाले निर्माण योजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ भने सम्भव भएसम्म आगामी चैतमै काम सक्ने तयारी गरेको छ ।
डंगोलले पशुपति दर्शनका लागि आउने धर्मावलम्बीका लागि धर्मशाला महत्वपूर्ण हुने भन्दै निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने बताइन् ।














