सुनसरीको अवस्था सामान्य बनाउन सरकार सक्रिय,संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह – Sagarmathapana:: Online News Portal

सुनसरीको अवस्था सामान्य बनाउन सरकार सक्रिय,संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

   २०८३ श्रावण १६ गते  

काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनुभएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँगको भेटमा प्रधानमन्त्री शाहले सरकारले सुरक्षा, राहत र निष्पक्ष छानबिनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

उहाँले राज्यका सबै सुरक्षा निकाय उच्च सतर्कतामा रहेको उल्लेख गर्दै सर्वसाधारणलाई संयमित रहन, अफवाहमा नलाग्न र त्रसित नहुन आग्रह गर्नुभयो।

प्रधानमन्त्री शाहका अनुसार सरकारको मुख्य लक्ष्य प्रभावित नागरिकसम्म तत्काल पुग्ने, उनीहरूको सुरक्षाको प्रत्याभूति गर्ने, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने तथा थप हिंसात्मक वा अवाञ्छित गतिविधि हुन नदिने रहेको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले मधेश प्रदेशका सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय भई सामाजिक सद्भाव कायम गर्न, नागरिकका समस्या सुन्न तथा राज्य र जनताबीच विश्वासको वातावरण बलियो बनाउन भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै