सरकारी टोलीसँग सहमति भएपछि डा. गोविन्द केसीले तोडे अनशन
काठमाडौं।चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारसँग सहमति भएपछि अनशन तोडेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत डा. केसीले सरकारी वार्ता टोलीसँग सहमति जुटेपछि अनशन अन्त्य गरेका हुन्।


सरकार र डा. केसी पक्षबीच सातबुँदे सहमति भएपछि उनले अनशन तोडेका हुन्। सहमतिपत्रमा डा. केसीका साथै सरकारका तर्फबाट शिक्षासचिव चूडामणि पौडेल, स्वास्थ्यसचिव डा. विकास देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले हस्ताक्षर गरेका छन्।
सहमतिको कार्यान्वयनमार्फत चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, चिकित्सा शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन र सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य तथा शिक्षाको पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको छ।













