खुलामञ्चमा ३५ हजार आदिवासी जनजाति जुटाउने तयारी, ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदै
काठमाडौं।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा भव्य रूपमा मनाउने तयारी गरेको छ। महासंघले यस वर्षको कार्यक्रमलाई औपचारिक उत्सवमा सीमित नराखी आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको अधिकारबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सन्देश दिने अभियानका रूपमा अघि बढाउने जनाएको छ।
![]()
![]()
नेफिनका अध्यक्ष निमा ह्योल्मो लामाका अनुसार कार्यक्रममा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता गराउने लक्ष्य राखिएको छ। कार्यक्रममार्फत नेपालका आदिवासी जनजातिको एकता, विविधता र साझा अधिकारको सन्देश विश्व समुदायसम्म पुर्याउने तयारी भइरहेको उनले बताए।


नेफिनका उपाध्यक्ष तथा प्रचार–प्रसार समितिका संयोजक अमृतबहादुर सुनुवारले यसपटकको विश्व आदिवासी दिवसलाई नेपालमा मात्र सीमित नराखी विश्वलाई नेपालको बहुजातीय र बहुसांस्कृतिक पहिचानबारे सन्देश दिने गरी आयोजना गर्न लागिएको बताए। उनका अनुसार दिवसलाई सांस्कृतिक तथा मौलिक खानाका परिकारको महोत्सवका रूपमा समेत प्रस्तुत गरिनेछ।
महासंघका महासचिव विमल सारु मगरले नयाँ शैलीमा कार्यक्रम आयोजना गर्न खुलामञ्च छनोट गरिएको बताए। काठमाडौं उपत्यकामा मात्रै ठूलो संख्यामा आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै उनले कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिए।


कार्यक्रमको तयारीका लागि २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। महासंघका विभिन्न जातीय सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समितिका साथै युवा, महिला, विद्यार्थी र सांस्कृतिक समूहहरू तयारीमा सक्रिय छन्।

५० भन्दा बढी समुदायको संस्कृति र मौलिकता प्रदर्शन
विश्व आदिवासी दिवसका अवसरमा नेपालका आदिवासी जनजाति समुदायका मौलिक संस्कृति, कला, परम्परा र जीवनशैलीलाई एकै थलोमा प्रस्तुत गरिनेछ। कार्यक्रममा विभिन्न समुदायका परम्परागत खानाका परिकार, मौलिक हस्तकला, जातीय पोशाक, सांस्कृतिक सामग्री, बाजागाजा तथा जीवनशैली झल्काउने सामग्रीको प्रदर्शनी र बिक्री गरिने आयोजकले जनाएको छ।
त्यस्तै, विभिन्न जातीय समुदायका कलाकारहरूले मौलिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुतिमार्फत नेपालको विविधता प्रस्तुत गर्नेछन्।

अधिकार र पहिचानका मुद्दा पनि उठाइने
दिवसका अवसरमा आदिवासी जनजातिका मातृभाषा संरक्षण, भाषा पत्रकारिता, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा अधिकार, भूमि, पहिचान, समानुपातिक सहभागिता, सामाजिक न्याय तथा संविधानप्रदत्त अधिकारका विषयमा समेत छलफल र बहस गरिनेछ।
नेपालमा ५९ वटा मान्यता प्राप्त आदिवासी जनजाति समुदाय रहेका छन्। ती समुदायका भाषा, संस्कृति, इतिहास, परम्परा, ज्ञान प्रणाली, चाडपर्व, रीतिरिवाज र मौलिक जीवनशैलीको संरक्षण तथा पुस्तान्तरणमा विश्व आदिवासी दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको महासंघको भनाइ छ।
कार्यक्रममा आदिवासी जनजाति आन्दोलनले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धि, संविधानमा सुनिश्चित अधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ र संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्रलगायतका विषयमा समेत चर्चा गरिनेछ। साथै अझै प्राप्त हुन बाँकी अधिकारका लागि साझा प्रतिबद्धता व्यक्त गरिने आयोजकले जनाएको छ।
महासंघले यस वर्षको कार्यक्रमलाई नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। खुलामञ्चमा विभिन्न समुदायका सांस्कृतिक झाँकी, मौलिक बाजागाजा, परम्परागत पोशाक र खानाका परिकार प्रदर्शन गरिने भएकाले कार्यक्रमलाई नेपालको ठूलो आदिवासी सांस्कृतिक महोत्सवका रूपमा समेत विकास गर्ने तयारी गरिएको छ।
महासंघले सम्पूर्ण आदिवासी जनजाति समुदाय, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक विविधता, मौलिक सभ्यता तथा आदिवासी जनजातिको पहिचान र अधिकारको साझा अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।












