झुट्टा मुद्दामा निर्दोष थुनिए अधिकारीबाटै क्षतिपूर्ति भराउने प्रस्ताव
काठमाडौँ।बदनियतपूर्वक वा झुट्टा प्रमाण खडा गरी निर्दोष व्यक्तिलाई थुनामा राख्ने अनुसन्धान अधिकारी र अभियोजनकर्ताबाटै क्षतिपूर्ति असुल गर्ने व्यवस्था गर्न लागिएको छ।
गृह मन्त्रालय ले तयार पारेको नयाँ कानुनको मस्यौदामा अदालतबाट निर्दोष साबित भएका व्यक्तिलाई थुनामा बसेको प्रत्येक दिनको ३०० रुपैयाँका दरले क्षतिपूर्ति दिने प्रस्ताव गरिएको छ।
मस्यौदाअनुसार क्षतिपूर्तिको रकम दोषी ठहरिएका अधिकारीको तलब वा अन्य सेवा–सुविधाबाट कट्टा गरी असुल गरिनेछ। यस्तै, औषधि उपचार तथा मानसिक क्षतिको समेत मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिले क्षतिपूर्ति निर्धारण गर्ने प्रस्ताव गरिएको छ।
अदालतबाट फैसला भएको एक वर्षभित्र पीडितले निवेदन दिनुपर्ने र सोही आधारमा क्षतिपूर्ति निर्धारण गरिने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।












