अतिभारी वर्षाको चेतावनी: २३ जिल्लामा राति सवारी रोक्न निर्देशन,उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं।लगातारको वर्षा र बाढी–पहिरोको जोखिम बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २३ जिल्लामा रात्रिकालीन सवारी आवागमन रोक्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले जोखिमको अवस्था हेरी जुनसुकै बेला रातिको सवारी आवागमन बन्द गर्न सकिने निर्णय गरेको हो। अन्य जिल्लामा पनि उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अतिभारी वर्षा हुने सम्भावना छ। साथै देशका विभिन्न हिमाली, पहाडी र तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
प्राधिकरणले पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई उच्च जोखिममा रहेको जिल्ला सूचीमा राख्दै स्थानीय तह र जिल्ला सुरक्षा समितिलाई पूर्वतयारी सुदृढ बनाउन निर्देशन दिएको छ।
भारी वर्षाका कारण अचानक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह र स्वयंसेवकलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सडक विभाग तथा सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा समयमै स्थानान्तरण गर्न तथा आपतकालीन राहत सामग्री गोदामहरू पनि तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न प्राधिकरणले आग्रह गरेको छ।












