मुग्लिन–नारायणगढ सडकमा बस र ट्रक ठोक्किँदा २५ भन्दा बढी घाइते, सडक सञ्चालनमा
चितवन।चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुईवटा यात्रुवाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्।
दुर्घटनापछि सडक केही समय अवरुद्ध भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पताल पठाएको तथा सडकसमेत पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
यता, लगातारको वर्षा र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै यात्रा गर्ने सवारी चालकलाई लेन अनुशासन कडाइका साथ पालना गर्न, सीमित गतिमा सवारी चलाउन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।












