सामाजिक सञ्जालमा चरित्रहत्या गरेको आरोपमा सांसद खुश्बु ओलीका उजुरीपछि दुई पक्राउ
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सांसद ओलीले सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा शनिबार चितवनबाट दुई जना पुरुषलाई पक्राउ गरिएको हो। साइबर ब्युरोले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।
ओलीले शुक्रबार साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेपछि आरोपितहरूको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएकी छन्।
यस विषयमा प्रतिक्रिया दिँदै ओलीले लोकतान्त्रिक समाजमा असहमति, आलोचना वा फरक विचार व्यक्त गर्नु स्वाभाविक र स्वागतयोग्य भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने तथा घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन्।
साथै, कारबाही प्रक्रिया अघि बढाएकोमा साइबर ब्युरो र नेपाल प्रहरीप्रति धन्यवाद व्यक्त गर्दै उनले यस्ता गतिविधिविरुद्ध कानुनी रूपमा अघि बढिरहने संकेत दिएकी छन्।
यसअघि पनि यस्तै प्रकृतिको उजुरीका आधारमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको थियो।












