कालोबजारी र कृत्रिम अभाव देखिए तुरुन्त खबर गर्न कृषिमन्त्री चौधरीको आग्रह
काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा जानकारी गराउन किसान, उपभोक्ता तथा सर्वसाधारणलाई आग्रह गरेकी छन्।
शनिबार चितवनका विभिन्न कृषि क्षेत्रको छड्के अनुगमन गर्दै तथा किसानसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री चौधरीले बाली लगाउने मुख्य समयमा मल, बीउ, विषादीलगायत कृषि सामग्री सहज रूपमा उपलब्ध भए–नभएको अवस्थाबारे जानकारी लिएकी थिइन्। साथै बजारमा कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि भएमा तत्काल मन्त्रालयलाई सूचित गर्न आग्रह गरिन्।
उनले मन्त्रालयमा उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी व्यक्ति वा व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारिन्। किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उनको भनाइ थियो।
अनुगमनका क्रममा मन्त्री चौधरीले रोपाइँको अवस्था, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिँदै सम्बन्धित निकायलाई आवश्यक समन्वय र समस्या समाधानका लागि निर्देशनसमेत दिएकी छन्।












