शिक्षकका लागि एआई लिट्रेसी तालिमको पाइलट शुभारम्भ, विश्वनिकेतन विद्यालयको संयुक्त अवलोकन – Sagarmathapana:: Online News Portal

शिक्षकका लागि एआई लिट्रेसी तालिमको पाइलट शुभारम्भ, विश्वनिकेतन विद्यालयको संयुक्त अवलोकन

   २०८३ असार २३ गते  

काठमाडौं।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मासातो कान्दा ले आइतबार काठमाडौंको विश्वनिकेतन माध्यमिक विद्यालय को संयुक्त अवलोकन गर्दै शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गर्नुभएको छ।

एडीबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका विद्यालय भवन, विज्ञान प्रयोगशाला (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको अवलोकनका क्रममा उक्त तालिम मोडुलको औपचारिक शुभारम्भ गरिएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालय र एसियाली विकास बैंक को प्राविधिक सहकार्यमा विकास गरिने यो तालिम अनलाइन तथा स्व–अध्ययन (सेल्फ–लर्निङ) प्रणालीमा आधारित हुनेछ। तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान, डिजिटल साक्षरता तथा प्रविधिमैत्री शिक्षण सीप विकास गराइने लक्ष्य राखिएको छ।

कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा विद्यालय शिक्षा सुधारका क्षेत्रमा आगामी दिनमा पनि सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

मन्त्रालयका अनुसार एडीबी विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो। विद्यालय पूर्वाधार निर्माणदेखि शिक्षा सुधारका विभिन्न कार्यक्रममार्फत एडीबीले नेपाललाई दीर्घकालीन सहयोग गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै