कवाड बोकेका ट्रक नियन्त्रणपछि केही छुटाइए, व्यवसायीको प्रश्न-बिचौलियामाथि कारबाही कहिले?
काठमाडौं।काठमाडौंमा कवाड सामग्री बोकेका ट्रकहरू नियन्त्रणमा लिइएको घटनाले नयाँ प्रश्नहरू उठाएको छ। केही व्यवसायीहरूले जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका ट्रकमध्ये केहीलाई पछि छाडिएको दाबी गर्दै यसमा निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
व्यवसायीहरूका अनुसार बिलबिजक, स्थानीय तहको सिफारिस तथा आवश्यक राजस्व प्रक्रिया पूरा गरेका ट्रकहरू समेत नियन्त्रणमा परेका थिए। उनीहरूको दाबीअनुसार केही ट्रक पछि छुटाइए पनि त्यसको स्पष्ट कानुनी आधार सार्वजनिक गरिएको छैन।

एक कवाड व्यवसायीले नाम नखुलाउने सर्तमा रोशन चौधरी र एक बिचौलियाबीचको प्रभावका आधारमा दुईवटा ट्रक छुटाइएको तथा थप केही ट्रक पनि छुटाउने तयारी भइरहेको दाबी गरे।
यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राजस्व अनुसन्धान विभागले बिलबिजक तथा आवश्यक कागजातबिना कवाड सामग्री ढुवानी भएको आशंकामा २७ वटा ट्रक नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको बताएका थिए।
व्यवसायीहरूको प्रश्न छ– यदि कर छली, अवैध कारोबार वा बिचौलियाको संलग्नताबारे आशंका थियो भने सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही किन भएन? यदि कुनै ट्रक कानुनी प्रक्रिया नटुंगिँदै छुटाइएको हो भने त्यसको आधार के हो? यसले निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।
उनीहरूले सम्बन्धित निकायसँग नियन्त्रणमा लिइएका सबै ट्रकको अवस्था, कसलाई कुन आधारमा छाडियो, कसविरुद्ध अनुसन्धान भइरहेको छ र कर छली वा अन्य आरोपबारे के प्रगति भएको छ भन्ने विषयमा सार्वजनिक जानकारी दिन माग गरेका छन्।
यता जिल्ला प्रहरी परिसर काठमाडौं, राजस्व अनुसन्धान विभाग तथा सम्बन्धित निकायबाट यी आरोपबारे औपचारिक प्रतिक्रिया आउन बाँकी छ। प्रतिक्रिया प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।















