कृषि विकास बैंकद्वारा दुई सेवामूलक संस्थालाई CSR सहयोग – Sagarmathapana:: Online News Portal

कृषि विकास बैंकद्वारा दुई सेवामूलक संस्थालाई CSR सहयोग

   २०८३ असार २२ गते  

काठमाडौं ।कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत दुई सेवामूलक संस्थालाई आर्थिक तथा सामग्री सहयोग प्रदान गरेको छ।

बैंकले तनहुँको देवघाटस्थित श्रीकृष्ण प्रणामी मन्दिर कृपाधाममा शुद्ध पिउने पानीको सहज व्यवस्था गर्न डिप बोरिङ निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। त्यस्तै, नवलपुरको देवचुली–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई फिजियोथेरापी सेवा विस्तारका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ।

शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक संजीव पौडेलको रोहबरमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्बन्धित संस्थाका प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बागमती प्रदेश कार्यालय, चितवनका निर्देशक रामप्रसाद गजुरेल, मार्केटिङ तथा सेल्स विभागका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, रजहर शाखाका प्रबन्धक विशाल पौडेल, प्रदेश कार्यालय चितवनका वरिष्ठ शाखा प्रमुख सुजन ढकाल, सन्देश दुङ्गेललगायत बैंकका अधिकारी तथा दुवै संस्थाका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। बैंकका अनुसार यस्ता कार्यक्रमले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै