म्याग्दीमा रेडपाण्डा (हाब्रे) संरक्षण अध्ययन तीव्र, १२ स्थानमा क्यामेरा जडान
म्याग्दी।संकटापन्न अवस्थामा रहेको रेडपाण्डा (हाब्रे) को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिका क्षेत्र र ढोरपाटन शिकार आरक्ष आसपासमा क्यामेरा ट्यापिङ विधिबाट अध्ययन सुरु गरिएको छ ।
दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस नेपाल) ले जलजला, मुना, मरेनी तथा ढोरपाटन शिकार आरक्षसँग जोडिएका क्षेत्रहरूमा १२ वटा स्वचालित क्यामेरा जडान गरेको हो ।
कार्यक्रम अधिकृत पवन राईका अनुसार रेडपाण्डाको आवतजावत हुने सम्भावित स्थान तथा दिसा भेटिएका क्षेत्रलाई आधार बनाएर क्यामेरा राखिएको छ । उनका अनुसार यसबाट रेडपाण्डाको अनुमानित सङ्ख्या, बासस्थानको अवस्था तथा गतिविधि अध्ययन गर्न सहज हुनेछ ।
यससँगै रेडपाण्डाको स्वास्थ्य अवस्थाबारे अध्ययन गर्न दिसा परीक्षण तथा आन्द्रामा हुने परजीवी सम्बन्धी अनुसन्धान पनि अघि बढाइएको छ । यसका लागि प्राविधिक टोली परिचालन गरिएको छ ।
समुद्री सतहदेखि करिब २,२०० देखि ४,५०० मिटर उचाइमा पाइने रेडपाण्डालाई नेपाल सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । यसअघि जलजला क्षेत्रमा गरिएको अध्ययनमा ६ देखि २५ वटासम्म रेडपाण्डा बसोबास हुन सक्ने अनुमान गरिएको थियो ।
स्थानीयस्तरमा पनि समय–समयमा रेडपाण्डा देखिएको पुष्टि फोटो तथा भिडियोमार्फत हुँदै आएको छ । २०७३ सालमा गरिएको अध्ययनमा पनि मरेनी क्षेत्रमा रेडपाण्डाको दिसा भेटिएको थियो ।
रेडपाण्डाको मुख्य आहारा निगालो तथा अन्य वनस्पति भएकाले गूर्जा, लुलाङ र मुना क्षेत्रको जंगल यसको उपयुक्त बासस्थान मानिन्छ ।
नेपालमा रेडपाण्डा संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको रूपमा राखिएको छ । यसको चोरी–सिकारमा संलग्नलाई एकदेखि १० वर्षसम्म कैद वा रु. एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
हालको अनुमान अनुसार नेपालमा करिब ५०० देखि १,००० रेडपाण्डा रहेको विश्वास गरिन्छ । रेडपाण्डा नेपालसहित चीन, भारत, भुटान र म्यानमारमा मात्र पाइन्छ ।












