तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न,कर्णालीलाई सुटिङ हब बनाउने प्रतिबद्धता
काठमाडौं।सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ भव्य रूपमा सम्पन्न भएको छ। “घुमौँ कर्णाली, हेरौँ कर्णाली” र “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने नारासहित सम्पन्न महोत्सवले कर्णालीको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको आयोजकले जनाएको छ।
महोत्सव कर्णाली प्रदेशको मौलिक कला, भाषा, जीवनशैली, प्राकृतिक सौन्दर्य तथा पर्यटन सम्भावनालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित आयोजना गरिएको थियो। कार्यक्रममा चलचित्र विकास बोर्ड ले सक्रिय सहकार्य तथा संस्थागत सहभागिता जनाएको बताइएको छ।



महोत्सवका क्रममा कर्णालीलाई चलचित्र छायाङ्कन, कथा विकास, चलचित्र पर्यटन तथा अन्तर्राष्ट्रिय सुटिङ गन्तव्यका रूपमा अघि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको थियो। साथै कर्णाली प्रदेश सरकारबाट चलचित्र क्षेत्रको विकासका लागि नीति तथा बजेटगत प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।
यस्तै, कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत कर्णालीमा छायाङ्कन गर्ने निर्माता–निर्देशकलाई सहकार्य र प्रोत्साहन गर्ने घोषणा गरिएको छ भने चलचित्र कथा प्रतियोगिताको शुभारम्भसमेत गरिएको छ। सल्यानको कुपिण्डे दह मा चलचित्र पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष समारोह पनि आयोजना गरिएको थियो।


महोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, दिनेश डिसी लगायत चलचित्र क्षेत्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार नेपाली चलचित्र उद्योगको विकास, अन्तर्राष्ट्रियकरण तथा चलचित्र र पर्यटनबीच सहकार्य विस्तार गर्न बोर्ड निरन्तर प्रतिबद्ध रहनेछ।














