आईजीपी बन्न ७ करोडको अफर आएको थियो : सांसद विश्वराज पोखरेलको खुलासा
काठमाडौं-Vishwaraj Pokharelले आफू प्रहरी महानिरीक्षक (आईजीपी) बन्नका लागि ७ करोड रुपैयाँको प्रस्ताव आएको खुलासा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व एआईजीसमेत रहेका उनले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका हुन्।
‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै पोखरेलले पद प्राप्तिका लागि आएको आर्थिक प्रलोभन अस्वीकार गर्नु आफ्नो नैतिक निर्णय भएको स्पष्ट पारे। “यदि त्यतिबेला पैसा बुझाएर आईजीपी बनेको भए, आज संसद्मा उभिने नैतिक आधार नै रहँदैनथ्यो,” उनले भने।
पोखरेलले प्रहरी सङ्गठनभित्र बढुवा र नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप तथा आर्थिक चलखेलबारे गम्भीर चिन्ता व्यक्त गरे। उनले आफूलाई पनि त्यही प्रक्रियाबाट प्रभावित पार्ने प्रयास भएको उल्लेख गर्दै प्रणालीमै सुधार आवश्यक रहेको धारणा राखे।
उनको यस अभिव्यक्तिले नेपाल प्रहरीभित्रको पारदर्शिता र सुशासनको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।












