गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति कांग्रेसको आपत्ति, उच्चस्तरीय न्यायिक छानबिनको माग – Sagarmathapana:: Online News Portal

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति कांग्रेसको आपत्ति, उच्चस्तरीय न्यायिक छानबिनको माग

   २०८३ बैशाख ४ गते  

काठमाडौं।काठमाडौंमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्वपदाधिकारी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ। पार्टीले उक्त प्रतिवेदनलाई अपूर्ण, एकतर्फी र चयनात्मक भन्दै खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो।

पार्टी सभापति गगनकुमार थापा को सभापतित्वमा सानेपास्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले भदौ २४ को घटनामा पर्याप्त छानबिन नभएको निष्कर्ष निकालेको छ। कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धानका लागि नयाँ ‘उच्चस्तरीय न्यायिक आयोग’ गठन गर्न सरकारसँग औपचारिक माग गरेको छ।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसे ले लोकतन्त्र, संघीयता र नागरिक सर्वोच्चताको रक्षा गर्दै संसदमा सशक्त प्रतिपक्षी भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याइएको जानकारी दिए। उनले सरकारका सकारात्मक र विधिसम्मत काममा सहयोग गर्ने तर लोकतान्त्रिक मूल्यविपरीतका निर्णयमा कडा विरोध गर्ने नीति पार्टीले लिएको स्पष्ट पारे।

त्यसैगरी, मध्यपूर्व संकटका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको भन्दै कांग्रेसले भन्सार तथा करमा सहुलियत दिएर मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएको छ। विद्यार्थीहरूका लागि विशेष राहत प्याकेज ल्याउन पनि माग गरिएको छ।


सांगठनिक पक्षमा बैठकले भ्रातृ संस्था र जनसम्पर्क समितिका प्रतिवेदनहरू अनुमोदन गर्दै क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ। विधिको शासनमा कोही पनि कानुनभन्दा माथि नहुने स्पष्ट पार्दै कांग्रेसले समसामयिक राजनीतिक विषयमा आफ्नो स्पष्ट र कडा अडान सार्वजनिक गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै