बैशाख १५ भित्र धरानको नयाँ बसपार्क उद्घाटन गर्ने तयारी, व्यवसायी अझै सशंकित
धरान।धरान मा लामो समयदेखि प्रतीक्षामा रहेको नयाँ बसपार्क सञ्चालनको मिति फेरि एकपटक तोकिएको छ। जग्गा विकाससम्बन्धी कानुनी विवादका कारण पटक–पटक स्थगित हुँदै आएको बसपार्क अब बैशाख १५ भित्र उद्घाटन गर्ने तयारी गरिएको छ।
कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा का अनुसार कार्यपालिकाले पारित गरेको कार्यविधि नगर सभाबाट अनुमोदन भएलगत्तै बसपार्क सञ्चालनमा ल्याइनेछ। नगर सभा बैशाख ३ गते बस्ने तय भएको छ। उनले सर्वोच्च अदालतमा परेको मुद्दासमेत उपमहानगरपालिकाकै पक्षमा फैसला भइसकेको दाबी गर्दै बाँकी प्रक्रिया तीव्र गतिमा अघि बढाइएको बताए।

यद्यपि, भानुचोकबाट बसपार्क एक्कासी सार्दा चुनौती आउने भन्दै यातायात व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार पहुँच मार्ग र भौतिक पूर्वाधार तयार भए पनि स्पष्ट कार्ययोजना र समन्वय अभाव देखिएको छ।
राष्ट्रिय यातायात व्यवसायी महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठ ले बसपार्क निर्माण सम्पन्न हुनु सकारात्मक भए पनि तत्काल स्थानान्तरण गर्दा प्राविधिक र व्यवस्थापकीय समस्या आउन सक्ने बताए। “यात्रुको सहज पहुँच, सुरक्षा र व्यवसायमा पर्ने असरबारे स्पष्ट योजना आवश्यक छ,” उनले भने।
यसअघि पूर्व नगर प्रमुख हर्क साम्पाङ राई ले पनि बसपार्क उद्घाटन गर्ने प्रयास गरेका थिए। तर आवश्यक कार्यविधि पास नभएकाले त्यो प्रयास सफल हुन सकेन। त्यस्तै, पूर्व प्रमुख तिलक राई र कार्यवाहक प्रमुख मञ्जु भण्डारीले पनि आफ्नै कार्यकालमा बसपार्क सञ्चालन गर्ने प्रयास गरेका थिए।

धरान–८ को सुन्दर बस्तीमा करिब एक बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको आधुनिक बसपार्क ‘बिकोइ गीताञ्जली जेभी, दुहबी–सुनसरी’ले २३ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण गरेको हो। २०७५ माघ २६ गते तत्कालीन प्रदेश सभामुख प्रदीप कुमार भण्डारीले शिलान्यास गरेको उक्त परियोजनाको अवलोकन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ले समेत गरेका थिए।
बसपार्कमा करिब ३ सय यात्रु अट्ने प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी निगरानी, सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष र मिनीमार्ट लगायतका सुविधा रहेका छन्। साथै यात्रु चढ्ने–ओर्लने व्यवस्थित स्थान र २२ वटा अटोका लागि छुट्टै पार्किङ व्यवस्था गरिएको छ।
२०५८ सालमा सुरु भएको यो परियोजना २३ वर्षपछि भौतिक रूपमा सम्पन्न भए पनि सञ्चालनमा ढिलाइ हुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। अब यसको प्रभावकारी सञ्चालनमार्फत धरानको ट्राफिक व्यवस्थापन सुधार गर्ने चुनौती उपमहानगरपालिकासामु रहेको छ।












