कुमारी बैंकको २५औँ वार्षिकोत्सव: रक्तदानदेखि सामाजिक अभियानसम्म विविध कार्यक्रम
काठमाडौं ।कुमारी बैंक लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। बैंकले यस अवसरमा ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो सफलतामा उनीहरूको योगदानप्रति आभार प्रकट गरेको छ।
रजत जयन्तीको अवसरमा बैंकले देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरसहित अन्य प्रदेशहरूमा समेत सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय रक्त बैंकको आवश्यकता पूर्ति गर्दै जीवन बचाउने अभियानमा योगदान पुर्याउने लक्ष्य राखिएको बैंकले जनाएको छ।


वार्षिकोत्सवकै अवसरमा बैंकले “परम्परागत भेषभूषा” कार्यक्रमसमेत आयोजना गरेको थियो। उक्त कार्यक्रममा कर्मचारीहरूले आफ्नो जातीय तथा सांस्कृतिक पहिचान झल्काउने पोशाकमा सहभागिता जनाएका थिए। यसले संस्थाभित्र समावेशिता, विविधता र आपसी सम्मानलाई थप मजबुत बनाएको बैंकको भनाइ छ।
बैंकले “सबैका लागि सधैंका लागि” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै “समुदायका लागि कुमारी बैंक” नामक सामाजिक उत्तरदायित्व कार्यक्रमको पनि सुरुवात गरेको छ। यस कार्यक्रममार्फत गरिब, विपन्न तथा पछाडि परेका समुदायको जीवनस्तर सुधारमा सहयोग गर्ने लक्ष्य राखिएको छ।


त्यसैगरी, रजत जयन्तीको अवसर पारेर बैंकले ‘सिल्भर सेभिङ्ग्स’ बचत खाता सार्वजनिक गरेको छ। उक्त खातामा ग्राहकहरूले बचत खातामै मुद्दती निक्षेपसरह आकर्षक ब्याजदर प्राप्त गर्ने सुविधा पाउने बैंकले जनाएको छ।
वि.सं. २०५८ सालदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाईमार्फत ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
बैंकले आगामी दिनमा पनि सरल, सुलभ र आधुनिक बैंकिङ सेवा विस्तार गर्दै देशकै अग्रणी बैंक बन्ने प्रतिबद्धता दोहोर्याएको छ।












