दक्षिणकालीमा पुस्तक विमोचन
२०८१ भाद्र १ गते शनिबार सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा केन्द्र दक्षिणकाली फर्पिङले पुष्कर खड्काको ‘हराएको निद्रा’ कवितासङ्ग्रह र रामराजा केसीका ‘अङ्ग्रेजी भूत’ निबन्धसङ्ग्रह तथा ‘कुहिरोभित्र’ लघुकथासङ्ग्रह गरी तीन पुस्तक सार्वजनीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि मोहन बस्नेत, विशेष अतिथि वसन्ती तामाङ डङ्गोल, साहित्यकार किशोर पहाडी, नाथ राष्ट्रिय परिषद्का गोरक्ष पीठाधीश योगी बलभद्रनाथ, पूर्वमीमांसा तथा तन्त्रविभाग वाल्मीकि विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालयका डा. माधवप्रसाद लामिछाने, पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसी, हाम्रो लघुकथा केन्द्रकै मनीषकुमार शर्मा समीत, शेखर अर्याल, नेपाल सरकारका पूर्वसचिव भरतबहादुर थापा, दीपबहादुर केसी र कान्छी केसी, स्रष्टाद्वय रामराजा केसी र पुष्कर खड्काले उक्त तीन कृति सामूहिक रुपमा विमोचन गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष लता केसीको स्वागत मन्तव्यबाट शुरूआत भएको उक्त कार्यक्रममा योगी बलभद्रनाथ, बुद्धिमान महर्जन, उज्यालो नेपाल संस्था बालआश्रमका संस्थापक रमा कोइराला, मधु खड्का, राजुभाइ थापा, श्रीराम आचार्य, बद्री कार्की र रामकुमार बस्नेतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
विमोचित कृतिमध्ये पुष्कर खड्काको ‘हराएको निद्रा’ कवितासङ्ग्रहको समीक्षा डा. माधवप्रसाद लामिछाने र ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको थियो । त्यस्तै, रामराजा केसीका ‘अङ्ग्रेजी भूत’ निबन्धसङ्ग्रह तथा ‘कुहिरोभित्र’ लघुकथासङ्ग्रहमाथि क्रमशः शेखर अर्याल र मनीषकुमार शर्माले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा खड्काको जीवनीमाथि राजेन्द्रकुमार केसी र रामराजा केसीको जीवनीमाथि सरिता बलामीले प्रकाश पार्नुभएको थियो ।
साहित्यकार एवम् विशिष्ट अतिथि किशोर पहाडीले स्रष्टाद्वयलाई शुभकामना दिँदै निरन्तर साधनामा लाग्न मार्गदर्शन गर्नुभएको थियो भने नगर उपप्रमुख एवम् विशिष्ट अतिथि वसन्ती तामाङले दक्षिणकाली नगरपालिकामा साहित्यले फड्को मार्दै गएको कुरा व्यक्त गर्नुभएको थियो । त्यसै गरी दक्षिणकाली नगरपालिकाका प्रमुख एवम् प्रमुख अतिथि बस्नेतले सुसेली साहित्यिक प्रतिष्ठानले नगरको गौरव बढाएको र आफू पनि साहित्यमा आकर्षित भएको कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू रामचन्द्र क्षेत्री, शैलेश मानन्धर, हरिप्रसाद तिमिल्सिना, अमृका बलामीसमेतको उपस्थिति थियो । विमोचन कार्यक्रममा दक्षिणकाली नगरका विद्यालयका प्रधानाध्यापक, वडा नं ४ कार्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी, समाजसेवीलगायत स्थानीयवासीको उपस्थिति थियो । उक्त कार्यक्रमका लागि पदमराम थापा, अर्जुन थापा मगर, राम मगर र राजु विष्टले सहयोग गरेका थिए ।












