धरानबाट विश्वकृतिमानी डा. रक्षकुमार राई उम्मेदवार,सुशासन र युवामैत्री नीति मुख्य एजेण्डा
धरान।२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट मितेरी पार्टी नेपालका तर्फबाट विश्वकृतिमानी डा. रक्षकुमार राई उम्मेदवार बनेका छन्। सामाजिक अभियान, अन्तर्राष्ट्रिय पहिचान तथा शैक्षिक उपलब्धिका कारण परिचित राईले राष्ट्रहित, सुशासन र युवामैत्री नीतिलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्।
भोजपुरको छिनामखुमा २०४५ सालमा जन्मिएका राई हाल सुनसरी (धरान) र काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन्। उनका पिता रामबहादुर राई र माता चन्द्रदेवी राई हुन्।


राई २०५९ सालदेखि जनयुद्ध अवधिमा जनमुक्ति सेनामा संलग्न रहेका थिए। २०७६ सालमा जनमुक्ति सेना पार्टी नेपालको महासचिवको जिम्मेवारी सम्हालेका उनले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका थिए। हाल उनी मितेरी पार्टी नेपालका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा “राष्ट्र बचाउ तथा निर्माण महाअभियान” का संरक्षकको भूमिकामा छन्।
राईले विश्वका विभिन्न विश्वविद्यालयहरूबाट आठ विषयमा विद्यावारिधि (PhD) उपाधि प्राप्त गरेको दाबी गरेका छन्। समाजशास्त्र (Sociology), राजनीति (Politics), भूगर्भशास्त्र (Geology), रत्नविज्ञान (Gemology) र मार्सल आर्ट्सलगायत विषयमा उनले जर्मनी, फ्रान्स, इटाली, घाना र अमेरिका लगायत देशका विश्वविद्यालयबाट अध्ययन तथा उपाधि हासिल गरेका छन्।
सितोरियो करातेमा चौथो डान ब्ल्याक बेल्ट प्राप्त राई अन्तर्राष्ट्रिय रेफ्री तथा कोचका रूपमा समेत सक्रिय छन्। उनले एसियन च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरेका छन् भने मार्सल आर्ट विषयमा जर्मनीबाट विद्यावारिधि गरेको उल्लेख गरेका छन्।

राईले विभिन्न विधामा ११ वटा विश्व कीर्तिमान कायम गरेको दाबी गरेका छन्। उनी Guinness World Records सम्बन्धित उपलब्धिसँग जोडिएका गतिविधिमा संलग्न रहेको बताइन्छ। साथै, OMG Book of World Records का ब्रान्ड एम्बेसडर, Exclusive World Records तथा Universal Records Forum का नेपाल कोअर्डिनेटर र Guinness World Records Event Judge का रूपमा भूमिका निर्वाह गरेको जानकारी दिएका छन्। उनले दर्जनौँ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको पनि उल्लेख गरेका छन्।
तीन पुस्तकका लेखक राई २०७५ सालदेखि निरन्तर समाजसेवामा सक्रिय रहेको बताइन्छ। विश्वशान्ति र मानवतावादको पक्षमा अभियान सञ्चालन गर्दै आएका उनले सामाजिक एकता र युवा सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएका छन्।
चुनावी प्रतिबद्धता
उम्मेदवार राईले सुनसरी क्षेत्र नं. १ का मतदातासँग राष्ट्रको स्वाभिमान, सुशासन, पारदर्शिता, गुणस्तरीय शिक्षा, युवा रोजगारी, खेलकुद प्रवर्द्धन र सामाजिक सद्भावको पक्षमा मतदान गर्न अपिल गरेका छन्।
आफू कुनै पनि सरकारी पदमा नबसिकन सामाजिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै अब संसद्मार्फत राष्ट्र निर्माणमा प्रत्यक्ष भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
मितेरी पार्टी नेपालको चुनाव चिन्ह “घोडा” मा मतदान गरी सक्षम र अन्तर्राष्ट्रिय अनुभवसहितको उम्मेदवारलाई विजयी गराउन उनले सम्पूर्ण मतदातासमक्ष अनुरोध गरेका छन्।
श्रोत चिसेफायु मिडिया,तस्बिर निमा पोङसुवा












