कमलादीस्थित नबिल हाउसमा नबिल बैंकको आधुनिक डिजिटल लाउञ्ज सञ्चालनमा – Sagarmathapana:: Online News Portal

कमलादीस्थित नबिल हाउसमा नबिल बैंकको आधुनिक डिजिटल लाउञ्ज सञ्चालनमा

   २०८२ माघ २९ गते  

काठमाडौं।नबिल बैंकले काठमाडौंको कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र सञ्चालक सरिता भट्ट अधिकारीले आयोजित कार्यक्रममा संयुक्त रूपमा डिजिटल लाउञ्ज उद्घाटन गरेका हुन्।कार्यक्रममा सञ्चालकहरू प्रविन टिवडेवाला, अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली,नायब प्रमुख कार्यकारी अधिकृतद्वय भुपेन्द्र पाण्डे र आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेशप्रसाद अवस्थी र ज्ञानेन्द्र प्रताप शाहलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा अध्यक्ष चौधरीले डिजिटल लाउञ्जमार्फत ग्राहकले २४ सै घण्टा सहज रूपमा बैंकिङ सेवा लिन सक्ने बताए। उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैं अग्रणी रहँदै आएको उल्लेख गरे।

डिजिटल लाउञ्जमा ग्राहकहरूले एटीएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न तथा कियोस्क मेसिनमार्फत चेक डिजिटली जम्मा गर्न सक्नेछन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार एउटै स्थानबाट बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध हुँदा ग्राहकको समय बचत हुने र सेवा प्रवाह अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

यसअघि नबिल बैंकले केन्द्रीय कार्यालय र इटहरीमा यस्तै डिजिटल लाउञ्ज सञ्चालनमा ल्याइसकेको छ। नयाँ सेवा विस्तारसँगै बैंकले परम्परागत काउन्टरमा आधारित सेवाबाट डिजिटल बैंकिङतर्फको यात्रालाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

देशभर २६८ शाखा सञ्जाल र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ। चार दशकभन्दा लामो अनुभव बोकेको बैंकले पछिल्लो समय डिजिटल बैंकिङ प्रवर्द्धनका लागि ‘एनबैंक’ सेवा सञ्चालनमा ल्याएको समेत जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै