विर्तामोडमा विश्वप्रकाश शर्मा : फागुन २१ अघि संसद् पुनःस्थापना हुँदैन,चुनाव तोकिएकै मितिमा हुन्छ
काठमाडौं।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेअघि विघटित संसद् पुनःस्थापना नहुने स्पष्ट पारेका छन्।
नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा आज झापाको विर्तामोडमा सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालती सुनुवाइ प्रक्रिया लामो हुने भएकाले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरे। “विघटित संसद् पुनःस्थापना हुँदैन। अदालती प्रक्रिया लामो छ, त्यसैले फागुन २१ गते नै चुनाव हुन्छ,” उनले भने।
उपसभापति शर्माले कांग्रेस पार्टीलाई निर्वाचनमा पूर्ण शक्तिका साथ होमिन कार्यकर्ता पङ्क्तिलाई आग्रह गरे। उनले पार्टीको नेतृत्व परिवर्तन भएसँगै कांग्रेस देशको मुहार बदल्ने अभियानमा अघि बढेको बताए।
विशेष महाधिवेशनमार्फत युवाहरू नेतृत्वमा निर्वाचित भएसँगै नेपाली कांग्रेस नवीन र ऊर्जाशील पार्टीको रूपमा स्थापित भएको उनको भनाइ थियो। “अब कांग्रेस पुरानो शैलीमा होइन, नयाँ सोच र नयाँ नेतृत्वका साथ देश परिवर्तनको अभियानमा लागेको छ,” शर्माले उल्लेख गरे।
कार्यकर्ता भेलामा आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण र पार्टी एकताको विषयमा समेत छलफल भएको थियो।












