नेपाल डेरी एसोसिएशन वाग्मती प्रदेशद्वारा पत्रकार निराज रानाभाट सम्मानित
ललितपुर।नेपाल डेरी एसोसिएशन वाग्मती प्रदेशले सक्रिय पत्रकार निराज रानाभाटलाई सम्मानित गरेको छ । पत्रकारिता क्षेत्रमार्फत समाजलाई सुसूचित गर्ने, निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्दै विशेषगरी दुग्ध तथा कृषि आधारित उद्योगहरुको अवस्था, समस्या र सम्भावना बारे निरन्तर कलम चलाउँदै आएको योगदानको उच्च कदर गर्दै नेपाल डेरी एसोसिएशन वाग्मती प्रदेशको ‘ सातौं वार्षिक साधारण सभा ’ को अवसरमा शुक्रबार सम्मान गरिएको छ ।


कार्यक्रममा प्रमुख अतिथि तथा वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मधुसूदन पौडेल र नेपाल डेरी एसोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले निराज रानाभाटलाई दोसल्ला, नगद तथा सम्मान – पत्र प्रदान गरेका हुन् ।
एसोसिएशनले ललितपुरको महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्यूमा आयोजित साधारण सभामा पत्रकार रानाभाटसहित एसोसिएशनमा आबध्द भएका किसानहरु, डेरी उद्योगलगायत विभिन्न विधामा सम्मान गरेको थियो । सम्मानित पत्रकार निराज रानाभाटले सम्मान गरिदिएकोमा एसोसिएशनलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि प्रचारप्रसार र प्रवर्द्धनमा सक्रिय रहिरहने प्रतिवद्धता जनाएका छन् ।
रानाभाटले विभिन्न जिल्लामा रहेका विद्यालय, विभिन्न संघ / संस्थाहरु साथै अशक्त व्यक्तिहरुको लागि आर्थिक सहयोग समेत गर्दै आइहरेका छन् । यस्तै, रानाभाटले मरणोपरान्त अंगदान, आँखा दान र छाला दान गर्ने भनेर वि.सं. २०७६ सालमा भक्तपुरको शहीद भक्तधर्म राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्रमा पुगेर मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामा पत्रमा हस्ताक्षर, काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर आँखा दान गर्ने घोषणा तथा काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा पुगेर मृत्युपछि छाला प्रत्यारोपण गर्ने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन् ।

रानाभाट विगत १ दशकदेखि कृषि, आर्थिक, शिक्षा, स्वास्थ्य, खेलकुद मनोरञ्जनलगायतका क्षेत्रमा कलम चलाइरहेका छन् । जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डट कमका प्रबन्ध निर्देशक / सम्पादक समेत रहेका निराज रानाभाट पछिल्ला वर्षहरूमा विशेषगरी कृषि क्षेत्रमा सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन्, भने कृषि पत्रिका, भिजन न्युज नेपाल, समाचारकुञ्ज डट कम, फरक दृष्टि डट कम, सगरमाथापाना डट कम, द न्युज शोरु डट कम, लाइफ खबर डट कम, राज्य दैनिक डट कमलगायतका विभिन्न मिडिया आबध्द छन् । विभिन्न संघ / संस्थाहरुले देशको विभिन्न स्थानमा आयोजना गरेको मेला / महोत्सव, तालिम, प्रदर्शनी, आदिमा रानाभाट सहभागी समेत हुने गरेका छन् । रानाभाट लमजुङमा जन्मिएर चितवनको भरतपुरमा बस्दै आएका र हाल ललितपुरमा बस्ने गरेका छन् ।












