दिक्तेलमा ६० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु,मेयर भट्टराईद्वारा उद्घाटन
खोटाङ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा ६० दिन सञ्चालन हुने निःशुल्क लोकसेवा तयारी कक्षा आजबाट सुरु भएको छ । कार्यक्रमको औपचारिक उद्घाटन नगरपालिकाका प्रमुख (मेयर) तीर्थराज भट्टराईले गर्नुभएको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको लोकसेवा तयारी कक्षा नगर क्षेत्रभित्रका युवायुवतीलाई लक्षित गरी सुरु गरिएको हो । लोकसेवा आयोगद्वारा लिइने विभिन्न तहका परीक्षाको तयारीमा सहयोग पुर्याउने उद्देश्यले कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।


उद्घाटन कार्यक्रममा बोल्दै मेयर भट्टराईले लोकसेवामा युवाको पहुँच बढाउन र दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गरेको बताउनुभयो । उहाँले अनुशासन, निरन्तर अभ्यास र लक्ष्यप्रति प्रतिबद्ध भए सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका अनुसार कक्षामा नायब सुब्बा, खरिदार, सहायक तथा चौथो तहका परीक्षालाई केन्द्रमा राखी अनुभवी प्रशिक्षकमार्फत अध्यापन गराइनेछ।कक्षा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, अध्ययन सामग्री र सहजीकरणको व्यवस्था गरिएको जनाइएको छ ।
स्थानीय युवायुवतीहरूले निःशुल्क रूपमा लोकसेवा तयारी गर्ने अवसर पाएकामा खुसी व्यक्त गरेका छन् । नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।













