प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका घाइतेबीच बालुवाटारमा ४ घण्टादेखि बढी छलफल – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका घाइतेबीच बालुवाटारमा ४ घण्टादेखि बढी छलफल

   २०८२ कार्तिक ५ गते  

काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा करिब चार घण्टा लामो संवाद गरेकी छन्। बिहान साढे १० बजे सुरु भएको छलफल अपराह्नतिर सकिएको हो।

घाइतेहरूको टोलीले सरकारलाई भ्रष्टाचार र दमनका विरुद्ध दृढताका साथ उभिन आग्रह गरेको छ। उनीहरूले “क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्छ” भन्दै चेतावनीसमेत दिएका छन्— भ्रष्टाचारविरुद्ध ठोस कारबाही नभए आन्दोलनको अर्को चरण सुरु गर्ने चेतावनीसहित।

१८ सदस्यीय टोलीको नेतृत्व घाइते रुपिन खड्काले गरेका थिए। खड्काले छलफलका क्रममा प्रश्न उठाए—

“जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई अहिले पनि किन पक्राउ गर्न सकिएको छैन? नियमले रोकेको हो कि संविधानले? जहाँ अवरोध छ, त्यहीँबाट फुकाइ सुरु गर्नुपर्छ।”

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनका क्रममा भएको दमनबारे भइरहेको छानबिनको प्रगतिबारे जानकारी गराए। उनले केही भागेका व्यक्ति अब नेपालमै देखापर्न थालेको दाबी गरे।

घाइते प्रतिनिधिहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै भने—

“प्रधानमन्त्रीज्यू, तपाईँले लगातार चुनावको कुरा मात्र गर्नुभएको छ। के यो सरकारको उद्देश्य ०८४ को चुनाव ०८२ सालमै ल्याउनु मात्र हो?”

प्रधानमन्त्री कार्कीले आफ्नो जवाफमा भनिन्—

“हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। कानुनी सीमाभित्र रहेर भ्रष्टाचारमाथि छानबिन भइरहेको छ। हामीलाई दिइएको म्यान्डेटअनुसार काम भइरहेको छ। तपाईँहरूले बोल्न नछाड्नुहोस्, हामीमाथि दबाब दिन पनि नछाड्नुहोस्। अब छानबिनको परिणाम देखिन थाल्नेछ।”

छलफलमा ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेललगायत मन्त्रीहरूको पनि उपस्थिति थियो।

घाइतेहरूले भ्रष्टाचारमा संलग्न कतिपय व्यक्ति सम्पत्ति लुकाउने प्रयासमा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै