भुवन केसी चलचित्र विकास बोर्डबाट भावुक हुँदै बिदा – Sagarmathapana:: Online News Portal

भुवन केसी चलचित्र विकास बोर्डबाट भावुक हुँदै बिदा

   २०८१ श्रावण ११ गते  

काठमाडौं । दुई बर्षे कार्यकाल सकेर भुवन केसी चलचित्र विकास बोर्डबाट बिदा भएका छन् । चलचित्र विकास बोर्डमा आयोजित बिदाइ कार्यक्रममा भुवन केही भावुक र केही आक्रोशित सुनिए । विशेषगरि, फिल्म क्षेत्रका लागि सरकारले कुनै पनि लगानी नगरेको भन्दै उनको आक्रोश सुनियो ।

केसीले आफ्नो दुई बर्षे कार्यकालमा ‘काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, बक्स अफिस प्रणालीको कार्यान्वयन गरेको, दोलखा फिल्म सिटीको अवधारणा अघि सारेको, स्टोरी बैंक मार्फत मौलिक फिल्म निर्माणमा प्रोत्साहन गरेको, फिल्मीकर्मीहरु लाई सम्मान, विशेष चलचित्र पुरस्कारको घोषणा, चलचित्र सम्बन्धी बिषयमा अध्ययन अनुसन्धान एवं विद्वत्वृत्तिमा प्रोत्साहन गरेको, चलचित्रकर्मीहरुको दक्षता अभिबृद्धि कार्यक्रम आयोजना गरेको, चलचित्रकर्मी कल्याणकोष संचालन अघि बढाएको, चलचित्रकर्मीहरुको छायांकन अवधिको दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरेका छन् ।

साथै, आफ्नो कार्यकालमा बोर्डले ‘बाल चलचित्र निर्माण प्रशिक्षण कार्यक्रम, विशिष्ट श्रेणीका चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, नेपाली चलचित्रकर्मीहरुलाई अन्तराष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि प्रोत्साहन, नेपाली चलचित्रको अन्तराष्ट्रिय प्रवर्द्धन र विकास, घुम्ती सिनेमा तथा सिनेमा साक्षात्कार कार्यक्रम, लघु चलचित्र प्रतियोगिता, सांकृतिक रुपान्तरण सम्मान तथा पुरस्कार, अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला चलचित्रकर्मीलाई सम्मान, चलचित्र विकास बोर्डको नारा र धुन निर्माण, राष्ट्रिय चलचित्र दिवस तथा चलचित्र क्षेत्रको नामाकरण लगायतको काम गरेको उल्लेख गरेका छन् ।

यस्तै, विकास बोर्डले आफ्नो कार्यकालमा नीतिगत, कानूनी र संरचनात्मक उपलब्धि पनि हासिल गरेको अध्यक्ष केसीको भनाई थियो ।
अध्यक्ष केसीले विकास बोर्डबाट आफू बाहिरिए पनि नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा सधैं लागिपर्ने बाचा गरे ।

उनले सरकारप्रति आक्रोश समेत व्यक्त गर्दै भने–‘निर्माता–निर्देशकहरुले जग्गा जमिन बेचेर यो क्षेत्रलाई यो स्थानसम्म ल्याएका छन् । सरकारले यो क्षेत्रका लागि यो गर्यौँ भनेर भाषण गर्ने ठाउँ छैन । एउटा फिल्म स्टुडियो समेत सरकारले बनाउन सकेको छैन । राष्ट्रिय चलचित्र उद्योगलाई प्राथमिकतामा राखेर हामीले काम गर्ने कोशिश गर्यौँ । तर, सरकारले सुन्छ मात्र कार्यान्वयन गर्दैन ।’

अध्यक्ष केसीले दुई बर्षे कार्यकालमा आफूले थुप्रै काम गर्ने कोशिश गरेको बताए । कार्यक्रममा अध्यक्ष केसीको दुई बर्षे कार्यकालका उपलब्धीहरुका समावेश गरिएको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।
उनले, बोर्डले पाएको अधिकार भित्र रहेर सबै काम आफूले गरेको बताए । भुवन केसी वि.सं २०७९ साल साउनको ९ गते विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै