पश्चिम नेपालमा अति भारी वर्षा: बबई र पश्चिम राप्तीमा आकस्मिक बाढीको जोखिम – Sagarmathapana:: Online News Portal

पश्चिम नेपालमा अति भारी वर्षा: बबई र पश्चिम राप्तीमा आकस्मिक बाढीको जोखिम

   २०८२ श्रावण २० गते  

काठमाडौं-पछिल्लो १२ घण्टामा पश्चिम नेपालका विभिन्न जिल्लामा अति भारी वर्षा भएपछि बाढी तथा डुबानको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा दाङको जलकुण्डी मापन केन्द्रमा रेकर्ड गरिएको छ, जहाँ २२७ मिलीमिटर पानी परेको छ। बाँकेको सिक्टामा २०० मिलीमिटर र बर्दियाको मानपुरमा १६७ मिलीमिटर वर्षा मापन गरिएको छ।

विशेषगरी दाङ र बाँके जिल्लालाई अति भारी वर्षा भएको क्षेत्रका रूपमा चिनिएको छ भने बर्दिया जिल्लामा धेरै भारी वर्षा भएको जनाइएको छ। दाङमा पछिल्लो एक घण्टामै २५ मिलीमिटरभन्दा बढी वर्षा भएको र त्यहाँको तुलसीपुर, अम्बापुर, जलकुण्डी लगायतका क्षेत्रमा भारी वर्षा जारी रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार सानो तर सक्रिय वर्षा प्रणाली विकसित भएकाले आज दिउँसो र राति विशेषगरी पश्चिम नेपालमा झनै भारी वर्षाको सम्भावना रहेको छ। यद्यपि अन्य प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ।

वर्षासँगै बबई, पश्चिम राप्ती, डुडुवा खोलालगायत साना नदी तथा खोल्सामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

हाल नेपालभर मनसुनी वायुले प्रभाव जमाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित रहेको छ।

देशभर अधिकांश स्थानमा बदली रहँदा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, मधेस, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी २४ घण्टासम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता आवश्यक रहेको विभागले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै