केचना-कचनकवलदेखि सगरमाथासम्म: नेपाल चिनाउने ‘जिरो टु ८८४८’” – Sagarmathapana:: Online News Portal

केचना-कचनकवलदेखि सगरमाथासम्म: नेपाल चिनाउने ‘जिरो टु ८८४८’”

   २०८२ असार १० गते  

काठमाडौं–कल्पना गर्नुहोस्—नेपालकै होचो भू-भागबाट, झापाको(केचना)कचनकवल, सुरुङ हुँदै शिखरसम्मको एउटा यात्रा, जसको अन्तिम गन्तव्य संसारकै सर्वोच्च चुली सगरमाथा हो। यही सपना बोकेको वृत्तचित्र हो – ‘जिरो टु ८८४८’, जसको ट्रेलर सोमबार वान सिनेमाज, नयाँ बानेश्वरमा सार्वजनिक गरियो।

यो केवल यात्रा मात्र होइन, एक देश चिनाउने यात्रा हो, जसले पूर्वको हरियालीदेखि हिमाली चिसो हावासम्मको भौगोलिक विविधतालाई एउटा कथामा पस्किएको छ।

वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो। निर्देशनमा निरञ्जन पाण्डे र बलराम बुढाथोकी छन्। नेपाललाई विश्वसामु उभ्याउने उद्देश्यले तयार गरिएको यस वृत्तचित्रमा प्रेम बानियाँ आफैँ पहिलो यात्रीका रूपमा यात्रामा निस्किएका छन्। उनीसँगै सगरमाथा आरोहणको १८ पटकको अनुभव बोकेका टेन्डी शेर्पा, विश्व घुमेका साइकल यात्री पुष्कर शाह, चर्चित लेखक- आरोही कोन्राड एन्कर, आङपासाङ शेर्पा जस्ता अनुहारहरूले यसलाई जीवन्त बनाएका छन्।

वृत्तचित्रले कचनकवलबाट सुरु भई इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु हुँदै सगरमाथा बेसक्याम्प र अन्ततः चुचुरो पुग्ने करिब ५१० किलोमिटर लामो पदयात्राको बर्णन गर्छ।

यो यात्रा झन्डै ९० दिनको हो। तर बानियाँका अनुसार, यो समयको यात्रा मात्र होइन, जीवनको पनि यात्रा हो। “जसरी जीवन शून्यबाट सुरु हुन्छ, यो पनि शून्यबाट शिखरसम्म पुग्ने आत्मिक यात्रा हो,” उनी भन्छन्।

निर्देशक पाण्डेका अनुसार, यो वृत्तचित्र विश्वमै अद्वितीय छ—‘समुद्र सतहभन्दा मुनिको एउटा बिन्दुबाट विश्वको सर्वोच्च शिखरसम्म पुग्ने यात्रा संसारमा कहीँ छैन।’ त्यसैले ‘जिरो टु ८८४८’ नामले नै यसको गहिरो संकेत गर्छ।

यो वृत्तचित्रलाई अमेरिकाका सबै राज्यहरूमा प्रदर्शन गर्ने योजना छ, त्यसपछि युरोप, अष्ट्रेलिया हुँदै नेपालका हलहरूमा सार्वजनिक गरिनेछ। साथै जलवायु परिवर्तन, भूगर्भ पर्यटन र साहसिक अध्ययन्को दृष्टिले यो पदमार्गलाई स्थायी पर्यटन गन्तव्य बनाउने योजना निर्देशकद्वयको छ।

छायांकनमा सुजन गुरुङ र दोजी शेर्पाले शिखरसम्म पुगेर दृश्य कैद गरेका छन्, जसले यो कथालाई नाटकीय भन्दा बढी जीवन्त बनाएको छ। कार्यकारी निर्माता श्री वाग्ले, सहायक छायाँकार उमंग शाही र प्रोडक्सन टिममा रहेका कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाहले पर्दामा पर्दापछाडिको सपना साकार पार्न मुख्य भूमिका खेलेका छन्।

‘जिरो टु ८८४८’ अब कुनै केवल फिल्म होइन — यो नेपाल चिनाउने अभियान हो, जुन शून्यबाट सुरु भएर शिखरसम्म पुग्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै