पूर्व मन्त्री सुदन किरातीको स्पष्टोक्ति : “म निर्दोष प्रमाणित भइसकेँ, अझै बदनाम गर्न खोज्नेहरूप्रति दया लाग्छ” – Sagarmathapana:: Online News Portal

पूर्व मन्त्री सुदन किरातीको स्पष्टोक्ति : “म निर्दोष प्रमाणित भइसकेँ, अझै बदनाम गर्न खोज्नेहरूप्रति दया लाग्छ”

   २०८२ असार ९ गते  

काठमाडौं, असार ९ – पछिल्लो समय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा नाम जोडिँदै आएको सन्दर्भमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सामाजिक सञ्जालमा चलिरहेका भ्रामक प्रचारप्रति गम्भीर प्रतिक्रिया दिएका छन्।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट म निर्दोष छु भन्ने कुरा प्रमाणित भइसकेको छ,” किरातीले प्रष्ट पारे, “तर अझै पनि मेरो तस्बिर टाँसी बदनाम गर्न खोज्नेहरूप्रति मलाई दया लाग्छ।”

छानबिनका लागि स्वयंले निवेदन दिएको खुलासा

किरातीले आफूले पशुपति कोषको विषयमा सामान्य चर्चा सुन्नासाथ तत्कालीन मन्त्रीका नाताले नै छानबिनको लागि निवेदन दिएको स्मरण गराएका छन्। “उक्त विषयमा अनुसन्धान हुँदा सहयोग गर्नु मेरो दायित्व थियो,” उनले भने।

“उजुरी कसैले हालेको कुरा ठूलो होइन”

उनले वर्तमान परिप्रेक्ष्यमा आफूविरुद्ध उजुरी दर्ता हुनु कुनै नयाँ वा असाधारण कुरा नभएको बताए। “नेपालको कानुन अनुसार उजुरी हाल्ने अधिकार सबै नागरिकलाई छ, बेनामे उजुरी पनि लाग्छ,” उनले प्रस्ट्याए, “वडा अध्यक्षदेखि पूर्व प्रधानमन्त्रीसम्म उजुरी पर्ने हाम्रो देशको प्रक्रिया हो।”

“अख्तियारको दुरुपयोग गर्ने कसैलाई छुट छैन”

किरातीले थपे, “अख्तियारको दुरुपयोग गर्दै कसैले कानुन विपरित काम गर्छ भने त्यसको सजायको भागिदार त बन्नै पर्छ। भ्रष्टाचार देशको शत्रु हो। मलाई अर्को जुनीमा विश्वास छैन, भ्रष्टाचारीलाई यही जुनीमा सजाय दिनुपर्छ भन्ने मेरो अडान छ।”

“सत्यको विजय अन्ततः हुन्छ”

अन्त्यमा उनले समाजमा सत्यको अन्तिम विजय हुनेमा विश्वास राख्दै आफू सधैँ सत्य, पारदर्शिता र जवाफदेहिताको पक्षमा उभिने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै