पहिलोपटक राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता हुँदै, करिब २०० खेलाडीको सहभागिता अपेक्षित
काठमाडौं।नेपाली युवा पुस्तामा बुद्धिचालको प्रवर्द्धन र विकास गर्ने उद्देश्यले ‘पहिलो राष्ट्रिय जुनियर (२० वर्षमुनिका) बुद्धिचाल प्रतियोगिता – २०८२’ आगामी असार २९ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।
यो ऐतिहासिक प्रतियोगिता बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा नगर युवा परिषद्ले आयोजना गर्न लागेको हो भने नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ। प्रतियोगिता बुढानीलकण्ठस्थित त्रिज्योति सेकेण्डरी विद्यालयमा असार २९ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

एफआईडीई (FIDE) द्वारा मान्यता प्राप्त यस राष्ट्रियस्तरको प्रतियोगिता (इभेन्ट कोड: 426022 / 426023) मा २० वर्षमुनिका करिब २०० जना केटा तथा केटी खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ। स्विस प्रणालीमा ९ चरणमा खेलाइने प्रतियोगिताले नेपालको नयाँ पुस्तामा बुद्धिचालको जागरण ल्याउने अपेक्षा गरिएको छ।
प्रतिभा पहिचान र बौद्धिक विकासमा योगदान
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नयाँ प्रतिभाको पहिचान, मार्गदर्शन, बौद्धिक क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्नु हो। प्रतियोगिता नेपालको बुद्धिचाल विकास यात्रामा एउटा महत्वपूर्ण मोड सावित हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
सहभागिता योग्यता र पुरस्कार विवरण
प्रतियोगितामा माघ २०६१ पछि जन्मिएका सम्पूर्ण नेपाली खेलाडीहरू सहभागी हुन योग्य हुनेछन्। नेपाल बुद्धिचाल महासंघमा दर्ता भएका खेलाडीहरूलाई प्रवेश शुल्क निःशुल्क हुनेछ। अन्य प्रदेशस्तरका खेलाडीहरूका लागि प्रवेश शुल्क १५०० रुपैयाँ तोकिएको छ।
प्रतियोगिता अन्तर्गत U-8, U-10, U-12, U-14, U-16, र U-18 उमेर समूहमा केटा र केटी छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन्। पुरस्कार राशिमा बुढानीलकण्ठ नगरपालिकाको नियमानुसार २५% कर लागु हुनेछ।
उद्घाटन समारोह र तालिका
प्रतियोगिता असार २९ गते बिहान १०:३० बजे उद्घाटन समारोहसहित सुरु हुनेछ। सोही दिन तीन चरणका खेल, असार ३० गते चार चरण, र अन्तिम दिन असार ३१ मा दुई चरणसहित समापन समारोहको आयोजना गरिनेछ।
बुद्धिचालको माध्यमबाट युवा पुस्तालाई बौद्धिक रुपमा समृद्ध बनाउने प्रयासस्वरूप आयोजना हुन लागेको यो प्रतियोगिता नेपालमा पहिलोपटक राष्ट्रिय जुनियर स्तरमा हुन लागेको हो, जसले दीर्घकालीन रूपमा देशमा बुद्धिचालको नेतृत्व उत्पादन गर्ने आशा गरिएको छ।












