अन्नपूर्ण आरोहणको ७५ वर्षः पर्यटकीय चहलपहलले विश्वकै गन्तव्य बन्ने दिशामा
गण्डकी—सन् १९५० जुन ३ मा मौरिस हर्जोगको नेतृत्वमा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण भएदेखि सुरु भएको अन्नपूर्ण क्षेत्रको पर्यटकीय यात्रा अहिले नयाँ उचाइमा पुगेको छ। अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाउने यो वर्ष, पर्यटक आगमनमा उल्लेखनीय बृद्धि देखिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP)का अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन २९ प्रतिशतले बढेको छ। आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार चालु आर्थिक वर्षका दश महिनामै २ लाख २६ हजार ४०९ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन्।
“बाँकी दुई महिनामा अझै पर्यटक आउने क्रम तीव्र हुने देखिन्छ,” डा. कडरियाले बताए, “जसअनुसार यो वर्षको अन्त्यसम्ममा २ लाख ७५ हजारभन्दा बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुग्ने सम्भावना छ।”
पदयात्राको केन्द्र: अन्नपूर्ण चक्रीय पदमार्ग
विश्वभरका पदयात्रीहरूका लागि ‘ड्रिम ट्रेल’ मानिने अन्नपूर्ण चक्रीय पदमार्गमा असोज–मंसिर र चैत–जेठ महिनामा पर्यटकको खासै भीड लाग्ने गर्छ। जाडो र वर्षायाममा भने आगन्तुकको संख्यामा केही गिरावट देखिए पनि धार्मिक र आन्तरिक पर्यटकको आवागमन यथावत रहन्छ।
मुक्तिनाथ जान चाहने अधिकांश भारतीय पर्यटक सडक मार्ग प्रयोग गर्ने गरे पनि युरोप र अमेरिका लगायतका पर्यटकहरू ट्रेकिङलाई प्राथमिकता दिने गरेको ‘एक्याप’ले जनाएको छ।
जैविक विविधता र सांस्कृतिक सम्पदासँगको यात्रा
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तह समेटिएको ७,६०० वर्ग किलोमिटर क्षेत्रफलको अन्नपूर्ण संरक्षण क्षेत्र (ACAP) मा अनेकौं प्राकृतिक र सांस्कृतिक चिजवस्तु भेटिन्छन्।
तिलिचो ताल, थोरङला भञ्ज्याङ, घोडेपानी, पुनहिल, ल्वाङ, सिक्लेस, घान्द्रुक, मर्दी हिमालदेखि लिएर अन्नपूर्ण बेस क्याम्पसम्मका गन्तव्यले देशी–विदेशी पर्यटकलाई लोभ्याउने गरेका छन्।
स्थानीय बासिन्दाको आतिथ्य, उत्कृष्ट सेवा सुविधा, मौसम र जैविक विविधता अन्नपूर्ण क्षेत्रको मुख्य आकर्षण हो। यसैले अन्नपूर्ण क्षेत्रलाई ‘पर्यटनमैत्री पदमार्ग’को रुपमा विश्वभर चिनिँदै गएको छ।












