गिडिदहको पर्यटकीय प्रवर्द्धनका लागि फुलचौल्यामा सुविधा सम्पन्न धर्मशाला निर्माण
जुम्ला,तातोपानी: कर्णाली प्रदेशको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य गिडिदह क्षेत्रको प्रवर्द्धनका लागि फुलचौल्यामा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिएको छ। तातोपानी गाउँपालिका–४ मा अवस्थित गिडिदह आसपास पर्यटकलाई सहजता प्रदान गर्ने उद्देश्यले धर्मशालासहित अन्य आधारभूत संरचनाहरू निर्माण गरिएको हो।

वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा रु १५ लाखको लागतमा धर्मशाला निर्माण सम्पन्न गरिएको हो।
धर्मशालासँगै यात्रुहरूका लागि खानेपानीको धारा र शौचालयको समेत व्यवस्था गरिएको छ, जसले यहाँ आउने पर्यटकहरूलाई थप सुविधा दिने विश्वास गरिएको छ।
गिडिदह समुद्री सतहदेखि ३,४८५ मिटरको उचाइमा अवस्थित अत्यन्तै मनमोहक ताल हो। यसको लम्बाइ १,५१० मिटर, चौडाइ ६५० मिटर र अधिकतम गहिराइ ४२.८ मिटर रहेको छ।
डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा निर्माण सम्पन्न धर्मशालाले गिडिदह क्षेत्रमा दीर्घकालीन पर्यटन विकासमा टेवा पुग्ने वन अधिकृत भरत बुढ्थापाले बताए।
स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले यस संरचनालाई गिडिदहको पर्यटन विकासमा महत्वपूर्ण पाइला भएको उल्लेख गरेका छन्।












