प्रधानमन्त्रीले जे-जे गरे पनि कांग्रेसले छुट दिँदै गएको भन्दै शेखरको आपत्ति – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्रीले जे-जे गरे पनि कांग्रेसले छुट दिँदै गएको भन्दै शेखरको आपत्ति

   २०८२ जेष्ठ १४ गते  

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि र अभिव्यक्तिबारे आपत्ति जनाएका छन् ।

मंगलबार विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठकमाडौं एमालेको कब्जामा हुनुपर्छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेता कोइरालाले प्रधानमन्त्री ओलीले जे–जे गर्दै गएपनि कांग्रेसले छुट दिँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे–जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’ प्रश्न गर्दै उनले भने ।

नेता कोइरालाले पधानमन्त्री एउटा व्यक्ति नभएर संस्था भएकाले पदमा बसेको मान्छेले बोल्दाखेरी विचार पुर्याउन आवश्यक रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठकमा बसेको पदाधिकारी बैठकमा देश बनाउने विषयमा कुरा नभएर आफ्नो बारेमा कुरा काटेर बिताएको सुनाए ।

‘सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला । भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौँ कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला। तर कुरा त मेरै बारेमा मात्रै भएछ,’– नेता कोइरालाले भने ।

प्रधानमन्त्री र सरकारको विरुद्धमा बोलेको भन्दै कांग्रेस पदाधिकारी बैठकले नेता कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईँलाई स्पष्टीकरण सोध्नुपर्ने निष्कर्ष बैठकको थियो । तर, नेता कोइरालाले आफूलाई स्पष्टीकरण सोधेर र कारबाही गरेर देखाउन सभापति देउवालाई चुनौती दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै