साहस उर्जाको आईपीओमा पहिलो दिनमै २.९१ गुणा बढी आवेदन
काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओमा पहिलो दिन नै १२ लाखभन्दा बढीले आवेदन दिएका छन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म १२ लाख ८१ हजार आवेदकले १ करोड ८७ लाख ८५ हजार कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा २.९१ गुणा बढी आवेदन परेको हो ।
साहस उर्जा लिमिटेडले आज बुधबार ९असोज ६ गते० देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ । कम्पनीको आईपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म लम्बिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।












