परराष्ट्र सचिवको जिम्मेवारी अमृतबहादुर राईले सम्हाले
काठमाडौँ। मन्त्रिपरिषद् बैठकले कायममुकायम(कामु) सचिव अमृतबहादुर राई लाई सचिवमा बढुवा गर्ने निर्णय गरेपछिऔपचारिक रूपमा परराष्ट्र सचिवको जिम्मेवारी राईले सम्हालेका छन्।

सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतका रूपमा सिफारिस गरिएसँगै राईलाई कामु सचिवको जिम्मेवारी दिइएको थियो। लम्साल संसदीय समितिबाट अनुमोदन भई राजदूत नियुक्त भएपछि सरकारले राईलाई सचिवमा बढुवा गरेको हो।

लामो समयदेखि कूटनीति र सार्वजनिक सेवा क्षेत्रमा सक्रिय रहेका राईले नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
राईले २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका थिए। त्यसयता उनले विभिन्न तहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै राष्ट्रको सेवा गरेका छन्।

परराष्ट्र सचिवका रूपमा उनको नियुक्तिले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप उचाइमा पुर्याउन र कूटनीतिमा आवश्यक सुधार गर्न मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ। अधिकारीहरूका अनुसार, राईको अनुभव र नेतृत्वले नेपालको परराष्ट्र प्रशासनलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।













