महामन्त्री गगन थापालाई सहकारी घोटालाको प्रमाण पोखरामा मागियो – Sagarmathapana:: Online News Portal

महामन्त्री गगन थापालाई सहकारी घोटालाको प्रमाण पोखरामा मागियो

   २०८१ पुष २२ गते  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले पार्टी संगठनको काममा पोखरा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई तारो बनाएका छन्।
उनीहरूले सामाजिक सञ्जालमा महामन्त्री थापा सूर्यदर्शन सहकारी प्रकरणलाई विषयान्तर गर्न पोखरा आएको आरोपमात्र लगाएका छैनन्, सहकारी पीडितको नाममा उनीसँग सहकारी घोटालाको प्रमाण माग्नसमेत लगाएका छन्।

गण्डकीका जनप्रतिनिधिहरूको भेलासहित विभिन्न कार्यक्रममा भाग लिन दुई दिनदेखि पोखरा रहेका थापा आइतबार अपरान्ह चिप्लेढुंगामा रहेको पार्टी कार्यालयका कार्यकर्तासँग भेटघाटमा व्यस्त थिए। त्यस्तैमा पार्टी कार्यालय अगाडी आफूलाई सहकारी पीडित बताउने केही महिलाहरू पुगे। त्यसको नेतृत्व अनुराधा श्रेष्ठले गरेकी थिइन्।

पार्टी कार्यालयको ढोकामा कांग्रेसका नेता कार्यकर्ता र प्रहरी तैनाथ थियो। त्यहाँ पुगेकी अनुराधाले सहकारी पीडित हुँ भन्दै ‘सहकारीमा कहाँ रवि दोषी छन्? प्रमाण कहाँ छ? माग्न आएको’ बताइन्। त्यही क्रममा त्यहाँ सामान्य झडप भयो। झडपपछि उनीहरू तितरबितर भए।

अनुराधा श्रेष्ठ यसअघि सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको कोषाध्यक्ष थिइन्। तर, सहकारी काण्डमा रास्वपा सभापति रवि जोडिएसँगै उनी संघर्षको कार्यक्रमभन्दा पनि रविलाई जोगाउने अभियानमा लागेकी हालैको साधारणसभाबाट सूर्यदर्शन सहकारीको अध्यक्ष बनेका तथा संघर्ष समिति तदर्थ समितिका अध्यक्ष रहेका किरण श्रेष्ठले बताए।

‘उनी रास्वपाको पोखरा महानगरपालिपका वडा नम्बर  ६ की सदस्य हो। सबै पीडित नै हौँ भनेर उहाँलाई संघर्ष समितिमा राखियो, बोल्न सिकाइयो तर अहिले आएर रवि पक्राउ परेर आएपछि उनले रङ देखाइन्,’उनले भने,‘ रविविरुद्ध किटानी जाहेरी मुद्दा हाल्ने अनि अहिले रविलाई छोड्देऊ भनेर रुँदै हिँड्ने काम गरिरहेकी छन्।’

किरणका अनुसार उनी रविसहित १८ जनालाई प्रतिवादी बनाउने पूरक जाहेरीकर्ता हुन्।

‘जाहेरी दिएपछि छवि देखिए, रवि देखिए को–को देखिए–देखिए। उनीहरुमाथि त कारबाही हुनुपर्यो नि,’ उनले भने,‘ रवि ल्याउनासाथ उनलाई रास्वपाले प्रयोग गर्‍यो। आज पनि कांग्रेसका महामन्त्री गगन थापाकहाँ प्रमाण खोज्दै पुगिछन्। अदालतमा पनि रास्वपाका कार्यकर्ताले नै उनलाई भित्र लिएर जान्छन्। त्यहीँ रुवावासी गर्न लगाउँछन्।’

उनले आफूहरूले कांग्रेस महामन्त्री थापासँग भेट्ने कार्यक्रम बनाएको तर झडपपछि त्यो सम्भव नभएको पनि बताए।

‘सानो भेटघाट कार्यक्रम थियो, भेट्न पाइएन। यसो भेटौँ, सहकारी विषयमा केही कुरा गरौँ। मिलापत्र हुन्छ भने, त्यहाँबाट हाम्रो पैसा फिर्ता हुन्छ भने त्यसको पनि पहल गरिदिनुहोस् भन्न खोजेका थियौँ, त्यसको पनि पहल गरौँ भन्ने थियो,’उनले भने,‘हिजो हामीले रविलाई पनि त्यसरी भेटेकै हो। उहाँसँग पनि हाम्रो कुरा राखेकै हो। अन्य दलका नेतासँग पनि कुरा राखेकै हो। त्यही गरौँ भन्ने थियो, भएन।   प्रमाण माग्न गएका रे। रास्वपा कार्यकर्ताहरु।’

श्रेष्ठले कास्की जिल्ला अदालतमा पनि रविसँग असम्बन्धित रास्वपाका मान्छेहरू प्रवेश गर्ने र हल्ला गर्ने गरेको आरोप लगाए। त्यही विषयलाई लिएर आइतबार अदालत परिसर बाहिर केहीबेर चर्चाचर्की भएको पनि उनले जानकारी दिए।

रास्वपाका कार्यकर्ताहरु संचारकर्मी बनेर अदालत भित्र छिर्ने तथा पीडित र जाहेरीवालाका व्यक्ति जान पनि नपाउन् भन्ने ध्याउन्नमा रहेको पनि उनको आरोप छ।

‘ग्यालेक्सी टेलिभिजनमा काम गर्नेहरूको टिम छन्। ती नेता हैनन्। कुन्नि के न्यौपाने, दीपक बोहोरा, प्रतिभा रावललगायत सरासर जान्छन्,’ उनले भने,‘उनीहरू ग्यालेक्सी टेलिभिजनबाट आएका हुन्। अदालतभित्र पनि हल्ला र खासखुस गर्छन्। श्रीमान (न्यायाधीश)ले माछा बजार नबनाउनुहोस् साग बजार नबनाउनुस् भनेर अस्तिदेखि नै भन्नुभएको हो। खस्याकखुसुक नगर्नुस् भन्दा पनि टेरेनन्।’

यसैबीच कास्की जिल्ला अदालतमा आइतबार पनि प्रतिवादीको तर्फबाट कानुन व्यवसायीले बहस गरेका छन्।  आइतबार छवि र लिला पछाईंको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठसहितले बहस गरेका थिए।

न्यायाधीश नितिज राईको इजलासमा भएको बहस सकिएको छैन। सोमबार पनि छवि र लिलाकै कानुन व्यवसायीले बहस गर्ने एक कानुन व्यवसायीले बताए। त्यसपछि रामबहादुर थापाको पालो आउने र बल्ल रविका कानुन व्यवसायीको पालो आउने पनि उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै