नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित – Sagarmathapana:: Online News Portal

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

   २०८१ पुष ९ गते  

सुनसरी —नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा सम्पन्न भएको नेपाल जेसीजको ५१ औं महाधिवेशनबाट थापा विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् ।

महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।

अध्यक्षको लागि थापा र कार्कीसहित रश्मी शिल्पकार, विजय गुरुङ, नरेश चन्द्र ओझा र सुनिल तिम्सिना प्रतिस्पर्धाका आकांक्षी थिए । अध्यक्ष पदमा ५ जना आकांक्षी भएपनि गएराति २ जनाबीच चुनावी प्रतिस्पर्धा भएको हो ।

थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरे । कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन्

नेपाल जेसीजको दोस्रो पटकको प्रयासमा निर्वाचित थापा सन् २०११ मा जेसीजको साधारण सदस्यको रूपमा प्रवेश गरेकी थिइन् ।

उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोसन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै