देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोज्नुभोः रामचन्द्र पौडेल – Sagarmathapana:: Online News Portal

देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोज्नुभोः रामचन्द्र पौडेल

   २०७८ भाद्र २८ गते  

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनीसमेत दिएका छन्।नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।उनले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिकरणको बाटोमा हिँडाउन सकिने वरिष्ठ नेता पौडेलको बुझाइ छ।

उनले भने, ‘वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ। हामी यसलाई मान्दैनौँ। हामी त्यसको विरुद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरुलाई पाखा लगाउने काम, जो भएको छ, हामी त्यसको विरोध गर्न चाहन्छौँ। यस किसिमले देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस, जो गर्न खोजिएको छ। त्यो दुस्साहस हो। हामी हुन दिँदैनौँ। नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन दिँदैनौँ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोपसमेत लगाए।उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै