सुनसरीमा सरकारी गाडी भित्र करिब ६९० किलो गाँजा सहित एक जना पक्राउ
काठमाडौँ । प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो।
प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ३३० किलो र बा१झ ५१२७ नम्बरको गाडीबाट ३६० किलो गाँजा बरामद गरेको हो।
ती गाडीमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी खटिएको थियो।
प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३३० किलोग्राम गाँजासहित चालक विकलाई पक्राउ गरेको थियो।
प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा१झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा नियन्त्रणमा लिएको थियो।
ती गाडीका चालक चालक फरार भएका थिए। उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिकभित्र प्याक गरेको अवस्थामा ३६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो ।
प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपालमा गाँजा प्रतिबन्धित लागुऔषधका रूपमा चिनिन्छ। यी सवारीसाधन सरकारी भने होइनन्। सरकारी गाडीको नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारेको पाइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए।












