रास्वपाले एउटा वडा अध्यक्ष पद जितेको छ भने विभिन्न ११ स्थानमा लज्जास्पद हार – Sagarmathapana:: Online News Portal

रास्वपाले एउटा वडा अध्यक्ष पद जितेको छ भने विभिन्न ११ स्थानमा लज्जास्पद हार

   २०८१ मंसिर १८ गते  

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत रास्वपाले काठमाडौँ महानगरपालिका–१६ को वडा अध्यक्ष पदमा जित हासिल गरेको छ । यहाँ रास्वपाकी रोजिना श्रेष्ठ दुई हजार ९०२ मतका साथ निर्वाचित भइन् ।

रास्वपाले हालसम्म एउटा वडा अध्यक्ष पद जितेको छ भने विभिन्न ११ स्थानमा ५० मत पनि कटाउन सकेन ।

प्रतिनिधि सभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुँदा अपेक्षा अनुसारको परिणाम हासिल गर्न सकेन ।

रास्वपाका उम्मेदवारको सबैभन्दा लज्जास्पद मत महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा आएको छ । वडा अध्यक्ष पदमा यहाँ रास्वपाले सुरसैद खाँलाई उम्मेदवार बनाएको थियो । उनले जम्मा ४ मत प्राप्त गरे ।

तिलगुफा नगरपालिका–४ मा पनि रास्वपाका लागि निराशाजनक रह्यो । यहाँ रास्वपाका गगन बलमे जम्मा ५ मत प्राप्त गरे ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिका–७ मा रास्वपाका शेख असराजले जम्मा ६ मत प्राप्त गरे । रुन्टीगढी गाउँपालिका–४ मा रास्वपाका हिमबहादुर पुनले जम्मा ७ मत पाए ।

सिरिजंघा गाउँपालिका–३ मा रास्वपाका देवी प्रसाद पौडेलले ७ मत पाउँदा धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्षमा रामनरेश दासले जम्मा १० मत प्राप्त गरे ।

यसैगरी ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्ष पदमा रास्वपाका बासुदेव शर्माले १७, पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा जानकी कुमार खड्का (कुँवर) ले ३१ मत पाइन् ।

गढी गाउँपालिका–६ को वडा अध्यक्षमा रास्वपाका शशि कुमार साहुले ३३ मत पाए । लालीगुराँस नगरपालिका–८ मा रास्वपाका सन्जिव खड्काले ३८ मत प्राप्त गरे ।

यस्तै मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा रास्वपाका विकास थापाले जम्मा ४३ मत प्राप्त गरेका छन् ।

सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा मतगणना जारी रहँदा त्यहाँ पनि रास्वपाको उम्मेदवारको अवस्था दयनीय छ । अहिलेसम्म रास्वपाका उम्मेदवार बाँचा बुढाले जम्मा ५ मत प्राप्त गरेकी छन् । जबकि, त्यहाँ एमाले उम्मेदवार जाना शाही २८६ मतसहित अग्रस्थानमा रहँदा माओवादी केन्द्रकी देवकी तिमल्सिना २२५ मतका साथ दोस्रो स्थानमा छिन् ।

रास्वपाका अन्य उम्मेदवारले कहाँ कति मत पाए ?

रास्वपाका उम्मेदवारमध्ये शुद्धोधन गाउँपालिका–१ को वडा अध्यक्षमा अवधेश कुमार चौधरीले ९२, हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा आशावीर बलले ८३, ककनी गाउँपालिका–२ को वडा अध्यक्षमा मंगलसिद्धि लामा तामाङले ८३, गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा मंगलबहादुर थापाले ८२ र दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा रामबहादुर शाहीले जम्मा ५३ मत पाएका छन् ।

रास्वपाका उम्मेदवारमध्ये ग्रामथान गाउँपालिका अध्यक्षमा नविनकुमार विश्वास खवासले ३७५, भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा रामदत्त भट्टले २१८, त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्षमा ध्रुवप्रसाद पोखरेलले २०२ मत प्राप्त गरेका छन् ।

यस्तै, नलगाड नगरपालिकाको उममेयरमा पार्वती पुनले १७९, मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा विष्णु प्रसाद पोखरेलले १५१, महाबु गाउँपालिका अध्यक्षमा प्रकाश कुमार बुढाले ११२ मत पाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै