कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान श्रेष्ठलाई
काठमाडौं : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो।
यसअघि असोज ४ गते प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन अमेरिका गएको समयमा पनि उपप्रधानमन्त्री श्रेष्ठलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो। प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी दिइने संवैधानिक व्यवस्था छ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीलेले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्।












