१० ऐतिहासिक नेपाली चलचित्रले पाए ‘युनिभर्सल’ प्रमाणपत्र
काठमाडौं।तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली चलचित्रले ‘युनिभर्सल’ प्रमाणपत्र पाएका छन् ।
चलचित्रहरूको जाँचपास प्रक्रिया सम्पन्न भएसँगै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र प्रदान गरिएको हो । जाँचपाससम्बन्धी पत्र तथा प्रमाणपत्र श्री उदयबहादुर राणाले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई हस्तान्तरण गरेका छन् ।



![]()
‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गर्ने चलचित्रमा ‘कुमारी’, ‘सिन्दुर’, ‘आमा’, ‘बदलिँदो आकाश’, ‘के घर के डेरा’, ‘शान्तिदीप’, ‘जीवनरेखा’, ‘मनको बाँध’, ‘परिवर्तन’ र ‘हिजो आज भोलि’ रहेका छन् ।
यी चलचित्रले नेपाली चलचित्रको विकासक्रमसँगै तत्कालीन समाज, कला, संस्कृति, भाषा, जीवनशैली तथा चलचित्र निर्माण प्रविधिको अवस्थालाई समेत प्रतिबिम्बित गर्छन् । त्यसैले यी चलचित्रलाई नेपाली चलचित्र इतिहासका महत्वपूर्ण दृश्य–श्रव्य सम्पदाका रूपमा लिइएको छ ।
![]()

जाँचपास प्रक्रिया पूरा भएसँगै अब यी चलचित्रलाई चलचित्र महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्न सहज भएको छ ।
चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहाससँग सम्बन्धित पुराना तथा दुर्लभ चलचित्रको खोजी, सङ्कलन, डिजिटाइजेसन, अभिलेखीकरण, संरक्षण र पुनःप्रदर्शनलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ ।













