प्रधानमन्त्री केपी शर्मा ओली आज चार दिनका लागि चीन भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली आज बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली ३९ जना प्रतिनीधिमण्डलको नेतृत्व गर्दै चीन जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
मंगलबार नै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । साथै, सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । द्विपक्षीय वार्तामा बहुचर्चित आर्थिक सहायता बीआरआईलगायत विविध एजेन्डाहरूमा छलफल तथा सहमति र सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको भ्रमण अघि सत्ताघटक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बीआरआईलाई लिएर सहकार्य फ्रेमवर्कमा सहमति भएको छ । सो फ्रेमवर्कमा सहमति भएमा दुई देशबीच सम्झौता हुने बताइएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा उहाँले सोही दिन सम्बोधन गर्नुहुनेछ । बेइजिङस्थित नेपाली दूतावासमा नवनियुक्त राजदूत कृष्णप्रसाद ओलीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ । भ्रमणको चौथो दिन बिहीबार प्रधानमन्त्री ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि प्रस्थान गर्ने तालिका छ ।












