यु १९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दै – Sagarmathapana:: Online News Portal

यु १९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दै

   २०८१ मंसिर १६ गते  

एजेन्सी । युनाईटेड अरब इमिरेट्स(युएई) मा जारी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेलिरहेको छ । खेल युएईको दुबई क्रिकेट स्टेडियममा अहिले बिहान १०ः४५ बजेबाट सुरु भएको छ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल पहिलो जितको खोजीमा रहेको छ । उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई हराउन हरसम्भव प्रयास गर्नेछ ।

क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ।

खेल ५० ओभरको हुनेछ । एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए ।

गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । सहभागीटोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ । नेपाली युवा टोलीमा कप्तान हेमन्त धामीसहित, अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।

यता नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो ।

नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको छ । नेपालले आज हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो ।

पाकिस्तानले लिग चरणमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो ।

नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् । अर्को सेमिफाइनल बंगलादेश र श्रीलंकाबीच हुनेछ । लिग चरणमा पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच सेमिफाइनल हुनेछ । फाइनल मंगलवार हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै