धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर केवलकार निर्माणको शिलान्यास
काठमाडौँ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ ।
राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
‘जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, माननीयज्यू, मेयर ज्यूसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ केबलकार निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।
यस अघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।
पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए ।












