कतार पठाइदिने भन्दै ठगी गरेको अभियोगमा मलेसियन नागरिक पक्राउ
काठमाडौं: नेपाल प्रहरीले एक मलेसियालीन नागरिकसहित चार जनालाई रोजगारीका लागि कतार पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरेको छ।
कतार पठाइदिने भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई मलेसियाली नागरिक ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान-२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन्।
उनीहरूले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई कारबाही शुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।












