देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदै
काठमाडौं।नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आज समापन हुँदैछ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारदेखि सुरु भएको तीनदिने भेला आज निष्कर्षसहित सकिन लागेको हो।
भेलाको समापन कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ। भेलामा विभिन्न राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएका छन् भने आज सहभागी प्रतिनिधिहरूले आफ्नो धारणा राखेपछि समापन गरिने प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।
भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन्। भेलामा सहभागी प्रतिनिधिहरूलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय उपलब्ध गराइएको छ। साथै, भेलाले विभिन्न १४ वटा उपसमिति चयन गर्ने तयारी गरेको जनाइएको छ।
पार्टीको नेतृत्व तथा आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि अनुमति दिएपछि देउवा पक्ष थप उत्साहित देखिएको छ। लामो समय उपचारका क्रममा विदेश रहेका निवर्तमान सभापति शेरबहादुर देउवा पनि भेलामा सहभागी हुन बिहीबार नेपाल फर्किएका थिए।
भेलामा देउवा पक्षले पार्टी एकता, नेतृत्व र आगामी राजनीतिक रणनीतिबारे धारणा सार्वजनिक गर्दै आएको छ। डा. शशांक कोइरालाले समेत देउवा नै आफूहरूको सभापति रहेको बताएका छन्।












