NATTA निर्वाचन पछि जिस्वान तुलाधरले भने–‘निर्वाचन सकिएको छ, हाम्रो यात्रा सकिएको छैन’
काठमाडौं।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को अध्यक्ष पदको निर्वाचनमा पराजित भएका जिस्वान तुलाधरले आफूलाई साथ, समर्थन र विश्वास गर्ने सम्पूर्ण व्यक्ति तथा आफ्नो टिमप्रति आभार व्यक्त गरेका छन्।

NATTA निर्वाचनमा जिस्वान तुलाधर, भरतजंग पाण्डे र युविका भण्डारी नेतृत्वका तीन समूहबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।


निर्वाचन परिणामपछि तुलाधरले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै अभियानको सुरुदेखि अन्तिम समयसम्म आफूलाई साथ दिने साथी, शुभेच्छुक तथा उम्मेदवार साथीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले आफ्नो सम्पूर्ण टिमले दिनरात नभनी अभियानमा गरेको मेहनत, समर्पण र विश्वासप्रति विशेष आभार व्यक्त गरेका छन्। निर्वाचनमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेकोमा समर्थकसँग क्षमासमेत माग्दै उनले निर्वाचन परिणामभन्दा आफूले पाएको माया, साथ, साहस र विश्वासलाई ठूलो उपलब्धिका रूपमा लिएको बताएका छन्।


तुलाधरले निर्वाचन अभियानमार्फत आफूले एउटा आत्मीय परिवार पाएको उल्लेख गर्दै आगामी दिनमा पनि पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूको हित र समग्र पर्यटन उद्योगको उज्ज्वल भविष्यका लागि सबै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘निर्वाचन एउटा चरण मात्र हो, हाम्रो पर्यटन क्षेत्रप्रतिको यात्रा अझै लामो छ।’
तुलाधरले अन्त्यमा ‘निर्वाचन सकिएको छ, तर हाम्रो यात्रा सकिएको छैन। अब पनि पर्यटनका लागि सँगै अघि बढौँ’ भन्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।













