नेपालमै बनेको ‘यात्री पीटू’ प्रवर्द्धनमा सरकारको पूर्ण साथ रहने अर्थमन्त्रीको घोषणा
काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को प्रवर्द्धन र विस्तारमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
काठमाडौँको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर स्कुटरको प्रत्यक्ष अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमै उत्पादन भएका प्रविधि र सवारीसाधनलाई विश्व बजारसम्म पुर्याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए।



उनले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनतबाट तयार भएको उत्पादनलाई गुणस्तर र प्रविधिका हिसाबले विश्वस्तरीय बनाउन सुझाव दिँदै सरकार स्वदेशी उत्पादनको प्रवर्द्धनमा साथमा रहेको बताए।
अवलोकनका क्रममा यात्रीका संस्थापक असिम पाण्डेले स्कुटरको डिजाइन, सुरक्षा तथा परीक्षणका विषयमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए।


सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले कठिन भौगोलिक भूभागमा सफल परीक्षण सम्पन्न गरिसकेको र स्कुटर छिट्टै बजारमा बिक्रीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।
श्रेष्ठका अनुसार दुईपांग्रे सवारीसाधनमा डीसी चार्जर प्रयोग गरिएको ‘यात्री पीटू’ विश्वकै पहिलो भएको दाबी गरिएको छ। उनले स्वदेशी उत्पादनको लागत प्रतिस्पर्धी बनाउन कच्चा पदार्थ आयातमा सहुलियतपूर्ण नीति ल्याउन सरकारसँग आग्रहसमेत गरे।
सन् २०१७ मा स्थापना भएको ‘यात्री मोटरसाइकल’ अहिले सिप्रदी ट्रेडिङसँगको सहकार्यमा ‘सिप्रदी यात्री’का रूपमा सञ्चालन हुँदै आएको छ।













