नाइमा मोबिलिटी एक्स्पोको अन्तिम दिन पनि दर्शकको उल्लेख्य भीड

काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अन्तिम दिन पनि दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ।
साउन २६ गतेदेखि सुरु भएको एक्स्पो आज समापन हुँदैछ। एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका विभिन्न सवारीसाधन, अटोमोबाइल प्रविधि तथा विद्युतीय मोबिलिटीसँग सम्बन्धित उत्पादनहरू प्रदर्शनमा राखिएका छन्।


आयोजकका अनुसार एक्स्पो अवधिमा हालसम्म ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन्। एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन अवलोकन गर्न तथा नयाँ प्रविधिबारे जानकारी लिन दर्शकको आकर्षण बढेको छ।


अन्तिम दिन पनि बिहानैदेखि भृकुटीमण्डपमा दर्शकको चहलपहल बढेको छ। विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादन तथा मोडल प्रदर्शन गर्नुका साथै एक्स्पोमार्फत ग्राहकलाई विशेष अफर र जानकारी उपलब्ध गराइरहेका छन्।
मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, विद्युतीय सवारीसाधन तथा बजारमा भित्रिएका नयाँ मोडललाई एउटै स्थानमा अवलोकन गर्न सकिने भएकाले एक्स्पो सर्वसाधारणका लागि आकर्षणको केन्द्र बनेको आयोजकको भनाइ छ।















